गोरखा । गोरखामा करेन्ट लागेर १ जना युवकको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ को जरेबरमा करेन्ट लाग्दा नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रमा कार्यरत प्राबिधिक रामकुमार लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
पोलबाट बिद्युत चोरी गरेको लाइन छुटाउने क्रममा लिम्बुको मृत्यु भएको हो । लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई एक्कासी करेन्ट लागेको र पोलबाट भुईमा खसेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले जानकारी दिए ।
ताप्लेजुङ स्थायी घर भएका लिम्बुलाई करेन्ट लागेर भुईमा खस्नासाथ उपचारको लागि गोरखा बजार ल्याईएको भएता पनि चिकित्सकले मृक्त घोषित गरेका थिए ।
मृृतक लिम्बु प्राधिकरण गोरखा बितरण केन्द्रमा ज्यालादारी प्राबिधिकको रुपमा कार्यरत कर्मचारी हुन् । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


