गोरखा । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीले गोरखाका २ सहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका ७ पाँचखुवा देउराली घर भई हाल काठमाण्डौंको वनस्थली बस्ने ३७ वर्षीय विकास अंगाई र भिमसेन थापा गाउँपालिका ८ बोर्लाङ घर भई वनस्थली बस्ने ४० वर्षीय मोहन पुडासैनी तथा काभ्रे पनौती घर भई छाउनी बस्ने ३७ वर्षीय राजकुमार हुमागाईं रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीहरुलाइ पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
विभिन्न व्यक्तिहरूले कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान पछि प्रहरीले उनीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरू साथबाट विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रहरु समेत बरामद गरेको छ ।
पक्राउ परेका ३ जना उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको जनाएको छ ।


