गोरखा । बिहिबार राती परेको मुसलधारे पानिका कारण गोरखा पालुङटार क्षेत्रलाई नराम्ररी प्रभावित पारेको छ । बर्षा पछि आएको बाढीले १ घर बठाएको छ भने हजारौ रोपनी जमिनलाई बगरमा परिणत गरेको छ ।
स्थानियले दिएको जानकारी अनुसार पालुङ्टार नगरपालिका ६ मा स्थानीय केशरबहादुर थापाको घर पहिरोले बगाएको छ भने ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको छ ।
बिहिबार राती नै आएको बाढीका कारण अहिले पालुङ्टार ९ सेरा बजार उच्च जोखिममा रहेको वडाध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
पालुङटार नगरपालिका ६ को कल्लेरीमा सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुरयाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उता छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले पनि ४ घर उच्च जोखिममा रहेको वडाध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए ।
त्यहाँ जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ ।
पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर पनि खहरेखोलाले क्षतिग्रस्त बनाएको छ । सोही क्षेत्रको चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा पारेको छ । बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब ३ हजार ५०० रोपनी भन्दा बढी खेत बगरमा परिणत गरिदिएको छ ।
यता पानीले बारकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक पहिरीएको जानकारी प्राप्त हुन आएको छ । प्राप्त जानकारी अनुसार सिरानचोक गाउँपालिका ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।
तस्बिर सामाजिक सञ्जालबाट





