गोरखा । गोेरखा अस्प्ताललाई नगर अस्पताल सरह बिकास गर्न गोरखा नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण रानामगरले बताएका छन् । गोरखा अस्पताले गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख रानाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अस्पतालले जिल्लाका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको स्वागत छलफल कार्यक्रममा बोल्दै प्रमुख रानाले जिल्लाका अन्य पालिकाहरुले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गरेपनि गोरखा अस्पताल नगरपालिका भित्र नै रहेकाले नगरपालिकाको छुट्टै अस्पताल निर्माण गर्ने भन्दा पनि गोरखा अस्पताललाई नै सुबिधासम्पन्न बनाउन पहल गरीने बताए ।
अस्पतालसंग सहकार्य गरेर अघि बढ्ने बचन दिदै प्रमुख रानाले अस्पतालबाट बिरामीहरुले पाउने उपचार सेवालाई प्रभावकारी बनाउन र बिशेषज्ञ चिकित्सकहरुबाट जिल्लामा जटिल खालका स्वास्थ्य उपचार गर्न सक्ने गरी योजना निर्माण गर्न पनि अस्पताललाई निर्देशन दिए ।
नव निर्वाचित प्रमुख तथा उप प्रमुखलाई गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले खादा लगाएर स्वागत गरेका थिए । अस्पतालले आयोजना गरेको कार्यक्रममा अस्पतालको समग्र बिकासका लागि स्थानीय तहले खेल्नु पर्ने भूमिका लगायतका बिषयमा प्रमुख तथा उपप्रमुखहरु संग छलफल समेत गरिएको थियो ।




















