काठमाण्डौं । भिमसेनथापा गाउँपालिका अन्तरर्गतको मसेलले आज राय तथा सुझाब संकलन कार्य गरेको छ । विभिन्न कारणले मसेलबाट काठमाण्डौंलाई थातथालो बनाएका मसेलबासीहरु बिच शनिबार राजधानीमा राय तथा सुझाव संकलन कार्य गरेको हो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य क्षेत्रलाई सरल तथा निःशुल्क प्रदान गर्न, निःशुल्क गुणस्तरीय शिक्षाका साथै पुर्वाधार विकासमा जोड दिनु पर्ने सुझाबहरु दिएका थिए । १ घर १ धारा, घर धुरीको वर्गिकरण, मोटर बाटोको स्तारोन्न्ती, आर्थिक पारदर्शीता, युवा स्वरोजगार तथा परिचालन, व्यवस्थित वडा कार्यालय जस्ता विषयहरु पनि सुझाव संकलनका क्रममा आएको वडाध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले बिकासको वादक भनेकै निजी जमिन भएको बताए । उनले सम्पुर्ण जमिन जनताको स्वामित्वमा भएकोले विकासका काम कारबाही गर्न अफ्ठ्यारो भएको अनुभव सुनाएका थिए ।
उनले सहभागीहरुलाई आफु सबै राजनैतिक दलहरुको सहयोगमा पालिकाको अध्यक्ष बनेको भन्दै अध्यक्ष बञ्जाराले हामि सबैको साझा प्रतिनिधि भएका कारण राजनैतिक रंगभेद रहित भएर काम गर्ने बचन दिएका थिए ।
अध्यक्ष बञ्जाराले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरि पालिकालाई नमुना बनाउन सहयोग गर्न अनुरोध समेत गरेका थिए ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र भिमसेनथापा गाउँपालिकाका पार्टी अध्यक्ष विनोद पाण्डे, जनता समाजवादी पार्टी भिमसेन गाउँपालिका–काठमाण्डौं मञ्चका सचिव नेत्रप्रसाद बगाले, पर्यटन व्यवसायी राजकुमार देवकोटा लगायतले गाउँपालिकालाई विकासको नमूना बनाउन विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु तथा विभिन्न पेशामा आबध्द रहेका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


