गोरखा । उत्तरी गोरखामा सुख्खा पहिरो जादा मनास्लु पदमार्ग अवरुद्व भएको छ । जिल्लाको धार्चे गाँउपालिका ३ को लुस्य्राङमा हिजो राती गएको सुख्खा पहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको हो ।
खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोला माथी सुख्खा पहिरो खस्दा बाटो अबरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
नेपाली सेनाले सडक निर्माण गरेको उत्त खण्डमा बम बिस्फोट गरेर पहरा फुटाउँदा अडकिएका ढुंगाहरु सडकमा झरेको अध्यक्ष गुरुङले बताए । अबरुद्ध बाटो तत्काल खुलाउन नेपाली सेनाको सडक निर्माण कार्यदल संग छलफल भई रहेको पनि अध्यक्ष गुरुङले जानकारी दिए ।
पहिरोले सडक पुरै ढाकेका कारण पैदल यात्रुलाई समेत आवत जावतमा समस्या परेको छ । पहिरोका कारण साना सवारी, पैदल यात्रु तथा खच्चड समेत रोकिएको छ ।


