गोरखा । नेपाली काँग्रेसका तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ माथी हातपात भएको छ । श्रेष्ठलाई तरुण दलका अध्यक्ष सुदिप थापा मगरको समूहले हातपात गरेको हो ।
गोरखा नगरपालिका ६ को बैंक रोडमा रहेको दिपक फोटो स्टुडियोमा फोटो लिएर फर्कने क्रममा थापा मगरले नेतृत्व गरेको १५–२० जनाको समूहले हेलमेट र सिसाले आक्रमण गरेका थिए । उनी संगै रहेका उनका सहयोगी श्रवण जोशी समेतलाई तरुण दलको उश्रृखल समूहले आक्रमण गरेका थिए ।
अध्यक्ष थापा मगरले ‘राजनराज पन्तले पाएको टिकट कसरी तैले लिएर आईस’ भनेर एक्कासी हेलमेट र सिसाले टाउकोमा प्रहार गरेको पिडित श्रेष्ठले गोरखा समाचार बताए । श्रेष्ठलाई आक्रमण गर्दा छेक्न गएका जोशीलाई पनि सोही समूहले आक्रमण गरेका थिए ।
उनीहरुले लाठी समेत लिएर आएको श्रेष्ठले बताए । आक्रमण स्थलबाट प्रहरीले श्रेष्ठलाई उद्वार गरेर घर लगेका थिए ।
श्रेष्ठले उजुरी नदिएका कारण आक्रमण संलग्न भनिएका सुदिपलाई पक्राउ नगरीएको गोरखा प्रहरीले जनाएको छ । निवेदन पर्नासाथ आरोपितलाई पक्राउ गरेर अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।
आक्रमण परे पछि सामान्य उपचार गराएको र टाउकोको उपचारको लागि बाहिर जानुपर्ने श्रेष्ठले बताए ।




















