गोरखा । गोरखा नगरपालिकाको मेयरको उम्मेद्वार छनौटमा राजनराज पन्त नपरेको भन्दै उनी समर्थित नगर काँग्रेसका कार्यकताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
काँग्रेस प्रदेश कार्यालयले गोरखा नगरको मेयरमा विश्वदेव श्रेष्ठलाई चयन गरे लत्तै पन्तका असन्तुष्ट समूहद्वाराले सदरमुकामको तिनधारेमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्ने समूहहरुले तालाबन्दी पछी नगर कार्यसमितिको कार्यालय अघि धर्ना दिएका थिए ।
‘हिजोसम्म राजनराज पन्तले टिकट पायो भनेर पोखरा भएको मान्छे गोरखा आयो आज आएर अर्कैलाई टिकट दियो अनि कसरी हुन्छ त ? पन्तका कार्यकता मध्ये एकले भने । उनका अनुसार पन्तले गोरखा नगरको टिकट पाउने भए पछि पोखराबाट आइतबार साँझ नै जिल्ला फर्किएका थिए ।
असन्तुष्ट पक्षले गोरखा नगरको मेयर पदमा आफन्त र गुट हेरेर टिकट दिएको आरोप समेत लगाएका छन् । निर्णय फिर्ता नभए बिरोधमा उत्रन बाध्य हुने एक असन्तुष्ट कायकर्ताले बताए ।
यस अघि गोरखा नगरपालिकाको मेयर पदका लागि भुपेन्द्र जंग थापा (भुगोल), विश्वदेव श्रेष्ठ, किशोर जंग थापा, पूर्णबहादुर पन्त (ध्रुव), डिलबहादुर थापा मगर, हरिबहादुर गान्धारी, शोभा अधिकारी, बिनाकुमारी श्रेष्ठ, ईमान सिं बस्नेत र राजनराज पन्तले निवेदन दिएका थिए ।
बन्दकताहरुले युवाहरुको मर्म र भावना विपरीत र पार्टीलाई हित नहुने खालको निर्णय गरेको भन्दै आफूहरु निर्वाचन अभियानमा सक्रिय रुपमा नलाग्ने समेत चेतावनी दिएका छन् ।


