गोरखा । नेपाली काँग्रेस गोरखाले गठबन्धनबाट बाहिरीएर ११ वटै पालिकामा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । काँग्रेले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै गठबन्धनबाट बाहिरीएर निर्वाचनमा एक्लै जाने निर्णय गरेको हो ।
सदरमुकामको तिनधारेमा रहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ‘केही पार्टीको नेताको हटका कारण जिल्लामा गठबन्धन टुटेको’ जानकारी दिए । ‘अब सबै दल संग मित्रवत ब्यवहार गर्दै गोरखा काँग्रेस एक्लै निर्वाचनमा जाने तयारी गरेको’ उनले जानकारी गराए ।
‘जिल्ला संयन्त्रको बैठकमा जसपाका साथीहरुले तालमेल गरेर नजाने भन्ने निर्णय गरेका कारण हामीले गठबन्धनबाट बाहिरीने निर्णय गरेका हौ’ सभापति न्यौपानेले बताए ।
गठबन्धनको बैठकमा जसपाले ३ गाउँपालिकाको अध्यक्ष २५ स्थानमा वडाध्यक्ष र १०० सदस्य माग गरेको पनि सभापति न्यौपानले जानकारी दिए । सोही गठबन्धनमा माओवादी केन्द्रले ६ स्थानमा आफ्नो पार्टीको नेतृत्व हुनुपर्ने दावा गरेका थिए । यसै बिच एकिकृत समाजबादीले १ गाउँपालिका र केही वडाध्यक्षमा दावा गरेका थिए ।
यता नेपाली काँग्रेस गोरखाले गठबन्धन भित्रै रहेर ७ गाँउपालिकाको नेतृत्व लिने र त्यसको उपाध्यक्षमा अरु पार्टी दिने र अन्य पार्टीले नेतृत्व लिएको तहमा काँग्रेसलाई उपाध्यक्ष दिनुपर्ने शर्त राखेको थियो ।
दलहरु बिच आपसी समझदारी हुन नसके पछि गोरखा काँग्रेसले भोली सबै स्थानिय तहमा एकल उम्मेदवारी दिन लागेको हो । यसै बिच काँग्रेसले आज साँझसम्म सबै पालिकाको प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुको नाम सार्वजनिक गर्ने भएको छ ।
गोरखा काँग्रेसले ०७४ को स्थानिय चुनावमा जिल्लाको ११ स्थानिय तह मध्ये बारपाक सुलिकोट र शहिद लखन बाहेक ९ पालिकाको अध्यक्ष र ४५ वडामा वडाध्यक्षमा जित हात पारेको थियो ।



