गोरखा । स्थानिय चुनाव जती नजिकिदै छ गोरखाको राजनितिक दलमा अन्यौलता झनै छाउदै गएको छ । गठबन्धन दलको बैठक पटक पटक बस्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । शुक्रबार साँझ ७ः०० बजेदेखी राती ११ः०० बजेसम्म भएको बैठक समेत निष्कर्ष बिहिन भएको छ ।
सहमती अनुसार आज शनिबार बिहानैदेखी बस्ने भनिएको भएता पनि समाचार तयार हुदासम्म कुनै पनि दलका नेतृत्वकर्ता बैठक स्थलमा पुगेका छैनन् । शुक्रबार होटल गोरखा गार्डेनमा भएको बार्तामा पनि दलको आ–आफ्नो हठका कारण निष्कर्षमा पुग्न नसकेको सहभागी दलका एक नेताले बताए । ‘ठुला दल मिलेका छन् । हामी साना दलकाले १–२ स्थानमा सिट माग्दा पनि दिन मान्दैनन्’ उनले भने ।
दलको बैठकले जनता समाजबादी पार्टीलाई १ गाउँपालिकामा नेतृत्व दिएको भएता पनि उसले स्विकार नगर्दा गठबन्धनको बैठक झनै अन्यौलमा परेको हो । जसपाले जिल्लाको २ स्थानिय तहमा नेतृत्व गर्न पाउनुपर्ने अडानका कारण बार्तामा सहमती जुटन नसकेको सहभागी दलका अर्का एक नेताले बताए ।
०७४ को स्थानिय चुनावमा जिल्लाको ११ स्थानिय तह मध्ये गोरखा र पालुङटार नगरपालिका सहित ९ स्थानिय तहमा नेपाली काँग्रेसको जित भएको थियो भने शहिद लखन र बारपाक सुलिकोटमा नेकपा माओवादी केन्द्रले नेतृत्व गर्न सफल भएका थिए ।
गठबन्धन दलको केही दिन अगाडी मात्र जिल्ला बाहिर भएको सहमती अनुसार नेपाली काँग्रेसले गोरखा नगरपालिका सहित ६ स्थानिय तह, नेकपा माओवादीले पालुङटार नगरपालिका सहित ४ स्थानिय तह र जनता समाजवादी पार्टीले सिरानचोक गाउँपालिकामा नेतृत्व लिने सहमती भएको भएता पनि शुक्रबार भएको बैठकमा त्यो सहमती हुन सकेन । सहमती अनुसार एकिकृत समाजवादीलाई गोरखा नगरपालिकाको उपमेयर पद दिईएको थियो ।
गठबन्धनको बैठक हुदै गर्दा भने नेपाली काँग्रेसले बाहिर देखिने गरी नै पालुङटार नगरपालिका आफुले नेतृत्व पाउनु पर्ने भन्दै गोरखा बजारमा बृहत छलफल कार्यक्रम समेत गरेको थियो ।
आज जसपा संग सहमती हुन नसकेको खण्डमा नेपाली काँग्रेले ७ स्थानिय तह र माओवादीले ४ स्थानिय तहमा नेतृत्व लिने गरी निर्णय हुने नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।
यता दलहरु बिच सहमती हुन नसक्दा सर्व साधारण जनताले भने राजनैतिक दलकाे आलाेचना गर्न थालेकाे छ ।


