गोरखा । गोरखा बहुप्राबिधिक शिक्षालयमा आज विद्यार्थीहरुको समूहले तालाबन्दी गरेका छन् । सोमबार भएको स्टिमेन्ट एन्ड क्वष्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रश्न पत्र बिग्रिएको छ भनेर पटक पटक प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरेकाले आफुहरुले ताला बन्दी गर्नुपरेको विद्यार्थीको समूहले जानकारी दिएको छ । उनीहरुका अनुसार आफुहरु क्याम्पस प्रमुखको कार्यकक्षमा प्रश्न पत्र गलत छ भनेर जाँदा प्रशासनले हप्काएर बाहिर निकालेकाले विद्यार्थीहरुको भविस्यमाथी नै खेलवाड गरेको आरोप लगाउदै तालाबन्दी गरिएको हो ।
क्याम्पस प्रशासन विद्यार्थीहरुको सहजताका लागि भन्दा पनि प्रशासनिक सर्तमा लागेका कारण आफुहरु समस्यामा परेको विद्यार्थीहरुको समूहको भनाई छ ।
यता शिक्षालय प्रमुख प्रदिप्राज बसौलाले भने प्रश्न पत्र गलत छ, भनेपछि सम्बन्धित शिक्षकलाई बोलाएको तर बाहिरी सुपरीबेक्षकलाई करेक्सन म्यासेज नआएकाले कसैलाई पनि जानकारी नभएर प्रश्न पत्र करेक्सन गर्न नसकिएको जानकारी दिए ।
उनले प्रश्न गलत भएकाले विद्यार्थीहरुले जुन डाटा अनुसार प्रश्नको हल गरेका छन् सोहि अनुसार प्रश्न करेक्सन गर्नका निम्ती सहजिकरण गर्ने जानकारी पनि दिए ।
उता सिटिभिटि परिक्षा नियन्त्रण कार्यालयका उप नियन्त्रक पुष्प पौडेलका अनुसार परिक्षा नियन्त्रण कार्यालयले सबै परिक्षा शाखामा एकैचोटी करेक्सन म्यासेज पठाएको भन्दै पालुङटारमा मात्र करेक्सन म्यासेज नजाने भन्ने नै नहुने तर्क गरेका छन् ।


