गोरखा । गोरखा बजारमा नक्कली सुन दिएर ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । सोझा साझा महिलालाई झुक्कानमा पारी नक्कली सुनलाई सक्कली हो भनेर ठगी गर्ने ३ जनाको समूहलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले संखुवा सभा जिल्ला चिचिला गाउँपालिका १ का ५२ बर्षिय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उप महानगर पालिका ९ का ४४ बर्षिया जुना तामाङ र सिन्धुली जिल्ला गोलजोर गाउँपालिका १ का ४१ बर्षिय गान्दिपकुमार बस्नेतलाई नियन्त्रण लिएको जनाएको छ ।
सर्व साधारणले उक्त समूहले आफुहरुलाई झुक्कानमा पारी सुन भनेर फलाम बिक्री गरेको गुनासो गरे पछि सादा पोषाकमा खटिएका प्रहरीको टोलीले गोरखा नगरपालिका ६ को घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताए ।
पक्राउ परेका सबैलाई शंकास्पद अवस्थामा सादा पोषाकका प्रहरीले फेला पारी शरिर खानतलासी गर्दा सुनको जस्तो लेप लगाएको फलामको ८ तोला ६५ लाल फलाम, १ थान मोबाईल र ३१ हजार नगद सहित नियन्त्रणमा लिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बैशाख २ गते पक्राउ परेका तिनै जनालाई प्रारम्भीक अनुसन्धान पछि बैशाख ४ गते आईतबार ठगी कसुर मुद्वामा गोरखा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । यस बिच आफुहरु उक्त समूहबाट ठगीएको भन्दै ५ जना सर्व साधारणले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
उक्त समूहले एक्लै बाटोमा हिडी रहेका महिलालाई पिछा गर्ने र बाटोमा सुनको टुक्रा फेला पारेको बहाना बनाएर महिला संग भएको पैसा लिएर सुन जस्तो टुक्रा दिएर फरार हुने गरेको पनि प्रहरीले अनुसन्धानमा फेला पारेको जनाएको छ ।



