गोरखा । नेपाली सेनाले गोरखाको मनास्लु हिमाल रहेको फोहर सफा गर्न सुरु गरेको छ । सफा हिमाल अभियान–२०२२ सञ्चालन गरेको नेपाली सेनाले गोरखाको मनास्लु हिमाल सहित सगरमाथा, ल्होत्से र कञ्चनजङ्घा हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उनका अनुसार सफाइ अभियानअन्तर्गत ४ वटा हिमाल सफाइमा सेनाका ४ सेनानीको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
८ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल अरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको जनाएको छ ।
उत्तरी गोरखाको सामागाउँमा रहेको मनास्लु हिमाल सरसफाईमा नेपाली सेनाका ९ जना अनुभवी सेनाहरु खटिएका छन् । त्यस्तै गरी सगरमाथा र ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा हिमालमा पनि ९ जना सेना खटिएका छन् । कुल ३० सेना खटिएको यो कार्यक्रममा हिमाल आरोही शेर्पाहरुको समेत सहयोग हुने नेपाली सेनाले जनाएको छ । अभियानमा सेनाका विशिष्ट चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकाय गरी ९२ जना रहेका छन् ।
नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गर्दै छ । हिमाल आरोहण क्रममा आरोहीले प्रयोग गरेर फ्याँकेका वस्तुका कारण हिमाल फोहोर बन्दै गएपछि सरकारले यस्तो अभियान घोषणा गरेको हो । जसको कार्यान्वयन तथा नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।
सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको पहिलो वर्ष विभिन्न हिमालबाट झन्डै ११ टन, सन् २०२१ मा ५ वटा हिमालबाट २६ टन फोहोर सङ्कलन गरेको थियो भने सन् २०२२ मा ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
जम्मा भएको फोहोर सङ्कलन गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र कुहिने फोहोर स्थानीय सरकारलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।
अभियानमा शेर्पा सैनी, समन्वय समिति, कार्यसमितिको समेत सहभागिता रहनेछ ।
नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठवटा र छ हजार मिटरभन्दा अग्ला एक हजार ३१० वटा हिमाल छन् ।


