गोरखा । गोरखा जिल्लामा अउदो केही दिनभित्रै करिब ६२ हजार बालबालिकालाई टाइफाइड बिरुद्वको खोप लगाउने तयारी पुरा भएको छ । राष्ट्रिय कार्यक्रम अन्तरर्गत १५ महिनादेखी १५ बर्षसम्मका ६१ हजार ४९६ बालबालिकालाई टाइफाइडको खोप लगाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो ।
कार्यालयले आज जिल्ला स्तरीय पत्रकार अभिमुखीकरण कार्यक्रम गर्दै ११ वटै स्थानिय तहमा रहेका बालबालिकालाई खोप लगाउने तयारी पुरा जनाएको छ । ‘नियमित खोप कार्यक्रम अन्रतर्गत नै १५ महिनादेखी १५ बर्षसम्मका बालबालिकालाई निशुल्क खोप दिने तयारी पुरा भएको’ स्वास्थ्य कार्यालय गोरखाका प्रमुख बिद्या तामाङले बताए ।
पछिल्लो समय गोरखा समेत टाइफाइडको उच्च जोखिमा रहेको भन्दै कार्यालयले जिल्लाको सबै स्थानिय तहमा चैत्र २५ गतेदेखी बैशाख १८ गतेसम्म ६१ हजार ४६९ जनालाई खोप दिने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत नानीबावु दानीले बताए । तर उच्च हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकामा भने बैशाखको ५ गतेदेखी १० गतेसम्ममा सबै बालबालिकालाई खोप लगाई सक्ने अधिकृत दानीले जानकारी दिए ।
खोप सञ्चालनका लागि १२५ जना भएको स्थानमा १ खोप केन्द्र र २०० जना वा २ घण्टा भन्दा बढी हिड्नुपर्ने स्थानमा थप अर्को खोप केन्द्र स्थापना गरी खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोपको लागि जिल्लाको ११ वर्टै स्थानिय तहमा ३८२ वटा केन्द्रमा ७६४ जना स्वयं सेवकले खोप दिनेइने भएको छ । १५ महिनादेखी २३ महिनाका बालबालिकालाई बायाँ तिघ्रामा र २ बर्षदेखी १५ बर्षसम्मका बालबालिकालाई बायाँ पाखुरामा खोप लगाइने पनि कार्यालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १ लाखमा १०० जना भन्दा बढीमा टाइफाइड देखिनुलाई उच्च जोखिम क्षेत्र मानिएको छ । नेपालमा यो संख्या प्रति लाखमा ११०० सय रहेको छ । गोरखामा मात्रै यो आर्थिक बर्षको साउनदेखी फागुन मसान्तसम्म ३८ हजार भन्दालाई टाइफाइड देखिएको पनि स्वास्थ्य कार्यालयका प्रमुख तामाङले जानकारी दिईन ।
खोप पाउने मध्ये लक्षित समूहको ८० प्रतिशत बालबालिका स्कुलमा रहेको कार्यालयले जनाएको छ ।
नेपालमा खोपबाट हुने रोगलाई शुन्यमा ल्याउने उद्वेश्यका साथ विश्व स्वास्थ्य संगठनले स्विकृत गरेको खोप देशैभर सञ्चालन हुन लागेको हो ।


