गोरखा । गोरखा नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले आज औपचारिक कार्यक्रमको आयोजना गरेर नगरपालिका कोरोना खोपयुक्त नगरपालिकाको घोषणा गरेको हो ।
नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गरेका सतप्रतिशत नागरिकहरुलाई कोरोना बिरुद्धको दुवै मात्राको खोप लगाएसंगै नगरपालिकालाई पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिए । राष्ट्रिय मापदण्ड अनुसार लक्षितको ९५ प्रतिसतलाई पूरा गरेपछि पूर्णखोपयुक्त घोषणा गर्न सकिने प्रावधान रहेको रेग्मीले बताए ।
गोरखा नगरपालिका क्षेत्र भित्रका स्थानीयबासी र नगरपालिका बाहिरबाट आएर बसोबास गरेकाहरुलाई नगरपालिकाले कोरोना बिरुद्धको खोप लगाइएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिका भित्र १८ बर्ष माथिका ३६ हजार ६५४ जनाले कोरोना बिरुद्धको दुवै डोजको खोप लगाएको तथ्याङक नगरपालिकाको स्वास्थ्य शाखाको रेकर्डमा देखाईएको छ । त्यस्तै १२ बर्ष उमेर समुहदेखि १८ बर्ष उमेर समुहसम्मका ५ हजार ४३९ जनाले कोरोना बिरुद्ध खोप लगाइएको पनि उल्लेख गरिएको छ ।
नगरपालिका भित्र करिब ३० हजार नागरिकलाई कोरोना खोप लगाउनु पर्ने घरधुरीको तथ्याङक रहेपनि बाहिरबाट आएर बसेकाहरुलाई समेतलाई खोप लगाइएकाले खोप लगाउनेको संख्या ३६ हजार नाधेको प्रमुख रेग्मीले बताए ।
पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति गोरखा प्रमुख अशोककुमार गुरुङ रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चाय लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रम गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।


