गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्याश भएको छ । गोरखा नगरपालिका ८ मा बन्ने भवनको एक कार्यक्रम बिच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्याश गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पत्रकारहरुको संस्थागत बिकासका लागी गण्डकी प्रदेश सरकार सदैव तयार रहने बताए । पहिलो चरणमा सिड मनीको रुपमा गोरखा शाखालाई १० लाख रुपैयाँ छुट्याएको भन्दै गण्डकी प्रदेशका जिल्लाहरुमध्ये जहाँ पत्रकार महासंघको भवन छैन, त्यहाँ भवन निर्माणका लागी प्रदेश सरकारले सहयोग गर्ने बताए ।
३ आना जग्गामा बन्न लागेको शाखाको भवन ३ तले भवन निर्माण हुने महासंघ गोरखा शाखाले जनाएको छ । नव निर्मित भवनको पहिलो तलामा सभाहल रहने छ भने माथिल्लो तलामा कार्यालय र तेस्रो तलामा पाहुना कक्ष रहने शाखाले जानकारी दिएको छ ।
भवन निर्माणका लागी जग्गा धनी शम्भु खत्रीले २ आना जग्गा निशुल्क उपलब्ध गराएका हुन् । बाँकी १ आना महासंघ आफैले खरिद गरेको हो ।
भवन निर्माणका लागी करिव ८० लाख लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्ष गोरखा नगरपालिकाले ५ लाख र सिरानचोक गाउँपालिकाले २ लाख रकम महासंघको भवन निर्माणका लागी विनियोजन गरेका छन् ।


