गोरखा । परम्परादेखि चल्दै आएको संस्कार, संस्कृति र रीतिरिवाजलाई पछिल्लो समय युवापुस्तामा हस्तान्तरण हुन सकेको छैनन् । आफ्ना बाबुबाजेले धान्दै आएका रितिरिवाज प्रति युवापुस्तामा पछिल्लो समय आर्कषण पनि न्युन छ । चाहे त्यो पेशा व्यवसाय पनि किन नहोस् । शहरी क्षेत्रमा मात्र होइन ग्रामिण क्षेत्रमा पनि सानासाना बालबालिकास समेत आजभोली मोवाइल र सञ्चारको पहुँचका कारण हुनसक्छ आफ्ना बुवाआमा रमाउन भन्दा पनि मोवाईल, कम्युटर वा टेलिभिजनसंग बढी रमाउने गरेका छन् ।
यसले आमाबुवा वा जेष्ठ नागरिक प्रति युवापुस्ताको माया ममता र स्नेहलाई बिस्तारै घटाउदै लगेकोमा जेष्ठ नागरिकहरुको चिन्ता छ । जेष्ठ नागरिक सघ गोरखाले आज सदरमुकाममा आयोजना गरेको पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रममा सहभागी जेष्ठ नागरिकले अधिकांसको चिन्ता युवाबर्गले आफ्ना संस्कृति रीतिरिवाज र परम्परालाई पछ्याउन सकेन भन्नेमा थियो । ‘जेष्ठ नागरिक ज्ञानसिपको अमूल्य भण्डार हो, कयौँ उकाली ओराली पार गर्दा समाजलाई राम्रोसंग भोगेका हुन्छ, उहाँले भन्नुभयो,‘ तर गर्न नसक्दा समस्या भएको छ, पुस्ता हस्तारन्तरण हुन नसक्दा जेष्ठ नागरिक प्रतिको माया ममता र सम्मान पनि घट्दै गएको छ ।’
पछिल्लो समय आफ्ना छोराछोरीले बृद्ध बुवाआमाको घरमा राखेर सुख दिने तर्फभन्दा बृद्धाश्रममा लगेर राख्ने प्रबृतिको बिकास हुनु नै पुस्ता हस्तान्तरण हुन नसक्दाको एउटा प्रमुख कारण भएको जेष्ठ नागरिकहरुको भनाई छ । ‘आफूले आफ्ना घरमा रहेका जेष्ठ नागरिकको राम्रो हेरचाह गर्ने संस्कारको बिकास गर्न सकियो भने आफ्ना छोरानातीले पनि आफूलाई श्रद्धापूर्वक हेरबिचार गर्छ भन्ने मनोवृद्धि बिकास गराउनु आबश्यक छ, श्रेष्ठले भन्नुभयो, परिवारमा राम्रो संस्कारको बिकास गरी पछिल्लो पुस्तालाई सिकाउन सक्नुपर्छ ।’
घरमा भएका बाबुआमा, हजुरबुबालाई सम्मान गर्ने, हेला नगर्ने संस्कारको बिकास पछिल्लो पुस्तामा हस्तान्तरण गर्नसक्दा जेष्ठ नागरिकलाई आदर सत्कार र माया ममता प्रदान गर्नुपर्छ भन्ने भावनाको बिकास हुने उहाँको भनाई छ । ‘पश्चिमा मुलुकको सभ्यताले छोएर परम्परागत धर्मसंस्कारलाई नै बिर्सिएर बुवाआमा प्रति सम्मान गर्ने बानीको बिकास हुन सकेको छैन, उहाँले भन्नुभयो,‘ युवावर्गहरुलाई हामी पनि भोली जेष्ठ नागरिक हुन्छौ भन्ने भावनाको बिकास गराउनुपर्छ ।’
पुस्ता हस्तान्तरण हुन नसक्दा समाजमा रहेका बिभिन्न आफना् जातजातीहरुको रीतिरिवाज, धर्म संस्कृति समेत बिस्तारै लोप हुदै गएको अर्का जेष्ठ नागरिक दिलबहादुर बस्नेत बताउनु हुन्छ । ‘हिजोका पिढीले हामीलाई केही ज्ञानगुन र इतिहास छाडेर गए, आज त्यसलाई हामीले हामीभन्दा पछाडीको युवापुस्तालाई सिकाउन सकेनौ भने त्यो लोप हुन्छ, उहाँले भन्नुभयो, अब राज्यले पुस्ता हस्तान्तरणलाई बिषयलाई शसक्त ढंगले अगाडी सार्नुपर्छ ।’
पछिल्लो समय पुस्ता हस्तान्तरणको बिषय भनेको बुबाआमाको नाममा रहेका धनसम्पती आफ्ना नाममा सार्नु मात्र हो भन्ने बुझाई युवापुस्तामा छ, उहाँले भन्नुभयो, ‘तर त्यतिमात्र होइन मृत्युपछि सम्पती संगसगै जाँदैन तर उसको बिधा, बुद्धि, जानसिप, संस्कृति भने हस्तान्तरण हुन सकेन भने व्यक्तिको मृत्युसंग मर्नसक्छ त्यसकारण त्यस्ता बिषय पनि युवापुस्तामा हस्तान्तरण हुनुपर्छ ।’
अधिबक्ता यादव शर्माले पनि पछिल्लो समय युवापुस्तामा पुस्ता हस्तान्तरण भन्ने बित्तिकै अंश अपुताली वा सम्पती हस्तान्तरण मात्र हो भन्ने बुझाई हुने गरेको बताउनुहुन्छ । ‘पुस्ता हस्तान्तरणको बिषय सामान्य हुदै होइन, यसले इतिहासलाई जीवन्त पनि बनाइराख्छ ।, अधिबक्ता शर्माले पुस्ता हस्तान्तरणले आफ्ना पुर्खाहरुको सम्झना, सम्मान र मायालाई जोगाइराख्ने मात्र नभएर उहाँ प्रतिको सम्मानलाई बढाउने बताउनुभयो । उहाँले घर परिवारमा रहेका ज्ञानसिप र क्षमताका कुराहरुलाई हस्तान्तरण गर्ने प्रबृतिको बिकास गर्दै जानुपर्नेमा जोडदिनुभयो ।
रासस




















