गोरखा । एमसीसी संसद्बाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव गोरखामा परेको छ ।
विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज (सोमबार) नेपाल बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । सदरमुकामका सबै ब्यवसायहरु पूर्ण रुपमा बन्द छन् । फाटफुट रुपमा निजी सवारी साधन तगा सरकारी तथा दुध र तरकारीका गाडी र एम्बुलेन्स भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।
जिल्लाका मुख्य सहरहरु गोरखा बजार, आरुघाट बजार र ठाँटीपोखरी बजारहरुमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य गोरखा–आबुँखैरेनी राजमार्गमा कुनै पनि सवारी चल्न सकेको छैन ।
त्यस्तै गरी, जिल्ला भित्रका कुनै पनि विद्यालय सञ्चालनमा आएको छैन ।
लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।




















