गोरखा । गोरखा सदरमुकामबाट स्कुटर चोरी गर्ने युवक पक्राउ परेका छन् । चोरी गर्ने ब्यत्ति गोरखा नगरपालिका ६ सतिपिपलका शिव तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तामाङ बिहीबार दिउसो ५ः१५ बजेको समयमा गोरखा नगरपालिका ६ को आरुघाट जाने बाटो तर्फ रहेको शिवशक्ती सप्लायर्समा काम गर्ने लेखा कर्मचारी सर्मिला रानाको ग. २० प २१११ नम्बरको स्कुटर उनकै अगाडी चोरी गरेर भागेको थिए ।
काम सकेर घर जान लागेकी रानाको स्कुटर एक्कासी उनले लिएर भागे पछि स्थानियको सहयोगमा उनलाई पेट्रोल पम्प क्षेत्रमा रहेको होण्डा सोरुमबाट नियन्त्रणमा लिईएको थियो । ‘काम सकेर घर जान निस्केको त आफ्नै अगाडी ति ब्यत्तिले स्कुटर लिएर भागे पछि सबै संग हार गुहार गरेर खोजी गर्दा होण्डा सोरुममा लगेर साँचो बनाउदै गरेको अवस्थामा फेला पारेको’ स्कुटर धनी सर्मिला रानाले बताईन ।
स्कुटर धनी र स्थानियको सहयोगमा समातिएका तामाङलाई तत्कालै प्रहरीमा बुझाईएको स्थानिय सरोज पोखरेलले बताए । ‘ति बहिनीले आफ्नो स्कुटर चोरी भएको भने पछि हामीले खोजी गर्दा उनलाई मोटर साईकल सोरुममा फेला पारी नियन्त्रणमा लिएर प्रहरीमा बुझाईएको’ पोखरेलले बताए ।
शिवशक्ती सप्लायर्सको अफिस अगाडीबाट तामाङले न्यूटलमा स्कुटर लिएर सोरुम पुग्न सफल भएका थिए । तामाङलाई नियन्त्रणमा लिनु अगाडी किन स्कुटर चोरी गरेको भन्दा काकाको स्कुटर भएकोले बनाउन ल्याएको जवाफ दिएको स्थानिय सरोज पोखरेलले बताए ।
प्रहरीले अहिले स्कुटर र तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।




















