गोरखा । गोरखा अस्पतालले स्वास्थ्य बिमा बापतको पाउनुपर्ने रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिदा उपचारमा समस्या भएको छ । अस्पतालले बोर्डबाट स्वास्थ्य बिमा गरेका बिरामीहरुको उपचारबापत पाउनुपर्ने ६० लाख रुपैयाँ भुक्तानीमा ढिलाई हुदा समस्या भएको जनाएको हो ।
आर्थिक बर्ष ०७८/०७९ को साउनदेखी माघ महिनासम्म गोरखा अस्प्तालमा स्वास्थ्य बिमा गरेकाहरुले १ करोड १८ लाख बरावरको उपचार गराएको ६० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निमित्त मेसु डा.हरिकुमार श्रेष्ठले बताए । ‘अस्पतालबाट साउनदेखी माघ महिनासम्म स्वास्थ्य बिमा गराएकाहरुले १ करोड १८ लाखको सेवा लिएको’ जानकारी दिदै ‘त्यस मध्ये बिमा बोर्डले ६० लाख रुपैयाँ भुक्तानी दिन बाँकी राख्दा औषधी खरिददेखी कर्मचारीको तलब दिन समेत समस्या भएको’ बताए ।
बिमा बापतको रकम प्राप्त नहुदा कर्मचारीहरुको तलब भत्ता, औषधी खरिददेखी ल्याबको लागि आवश्यक केमिकल समेत खरिद गर्न समस्या भएको गोरखा अस्पतालका ब्यवस्थापक लिपासा श्रेष्ठले जानकारी दिईन । ‘हामीले बाँकी रकम भुक्तानीका लागि केही दिन अगाडी मात्र स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गरेका छौ’ ब्यवस्थापक श्रेष्ठले बताईन ।
सरकारी दरबन्दी अनुसारको कर्मचारी अभावमा अस्पताल बिकास समितिले कर्मचारीहरु राख्दै आएको छ । तर उनीहरु पनि समयमा तलब र भत्ता दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको नयाँ भवनसंगै उपचार गर्न आउने बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको जानकारी दिदै गोरखा अस्पतालका जनस्वास्थ्य अधिकृत एवं सुचना अधिकारी कृण्ण ढकालले समयमा रकम प्राप्त भएको खण्डमा कर्मचारीलाई तलब भत्तादेखी ल्याबका केमिकल खरिद तथा औषधी खरिद गरेर बिरामीलाई छिटो छरितो सेवा दिन सहज हुने बताए ।
यता स्वास्थ्य बिमा बोर्ड गोरखाले भने गोरखा अस्पतालबाट बाँकी रकमको लागी ताकेता गरेको जानकारी दिदै लेखा हेर्ने कर्मचारीको सरुवा भएका कारण भुक्तानीमा ढिलाई भएको स्विकार गरे । हामीले यहाँबाट रेकर्ड पठाउछौ तर भुक्तानी भने केन्द्रिय कार्यालयबाट हुने समेत जानकारी दिए ।
गोरखामा ७० हजार ४०६ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड गोरखाका प्रमुख बिशाल लौडारीले जानकारी दिए ।




















