गोरखा । गोरखाको नामजुङमा गएराती एकै दिनमा दर्जन घरमा चोरी भएको छ । नचिनेका समूहले नगद, सुनका गहना र पसलमा भएका बियर र चुरोट समेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मंगलबार भएको चोरीमा सहिदलखन गाउँपालिका ९ को नाम्जुङ् स्थित हुक्का गाउँमा नगद, सुनका गहना र पसलका बियर तथा चुरोट चोरी भएको हो ।
अपरिचित मानिसहरुको समूहले लिला प्रसाद ढकाल, भरतमान सिंह बस्नेत र नारायण बस्नेतको घरबाट सुनचाँदी, नगद तथा जिन्सी मालसामानहरु चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक धमबहादुर अधिकारीले बताए ।
सोही स्थानमा बसोबास गर्ने नानीमाया लामिछाने, ईश्वर प्रसाद लामिछाने, तेज प्रसाद लामिछाने, गुञ्ज कुमारी लामिछानेको घर र श्री जनशक्ती माविको प्रअको कार्यकक्ष समेत तोडफोड गरेको गोरखा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार लिला प्रसाद ढकालको घरबाट सुनको चन्द्रमाथान १ थान, सुनको मंगलशुत्र १ थान, सुनको जन्तर १ थान, सुनको औठी ३ थान र नगद ४५ हजार चोरी भएको हो ।
त्यस्तै गरी, बस्ने भरतमान सिंह बस्नेतको घरबाट खुकुरी रम २५ बोटल, बियर १ कार्टुन र सुर्य चुरोट १२ प्याकेट चोरी भएको थियो । नारायण दत्त ढकालको घरबाट नगद १५ हजार पनि चोरी भएको छ । घटनाका बिषयमा अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।


