गोरखा । उत्तरी गोरखामा रहेको खाद्य डिपोमा यस बर्ष बर्षा अगावै खाद्यान्न ढुवानी सम्पन्न भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका अनुसार डिपोमा २ हजार क्विन्टल चामल ढुवानी भएको छ ।
कम्पनीको गोरखा शाखा अन्तरर्गत आव २०७८÷०७९ को लागी स्विकृत २ हजार क्विन्टल खाद्यान्न ढुवानी सम्पन्न भएको गोरखा शाखाका सूचना अधिकारी शिब सुनारले जानकारी दिए । सुनारका अनुसार सिर्दिबास डिपोमा सोना मंसुली चामल १ हजार ९१ क्विन्टल ६० केजि, स्टिम जिरा मसिनो चामल ६३० क्विन्टल, अरुवा मध्ययम चामल ४२ क्विन्टल ९० केजि र अरुवा मकवानपुर २३५ क्विन्टल ५० केजि गरी जम्मा २ हजार क्विन्टल खाद्यान्न पु¥याईसकिएको हो ।

डिपोमा खाद्यान्न पुगे संगै बिक्रि गर्न थालिएको पनि कम्पनीको गोरखा शाखाले जनाएको छ । डिपोबाट हालसम्म ५५४ क्विन्टल ५० केजि खाद्यान्न बिक्रि भईसकेको छ ।
कम्पनीले डिपोमा सोना मंसुली चामल र अरुवा मध्यम प्रति केजि रु ५२ रुपैयाँ, अरुवा मकवानपुर प्रतिकेजि ५० र स्टिम जिरा मसिनो चामल प्रति केजि ६६ रुपैयाँमा बिक्रि गर्दै आएको छ ।
कम्पनीमा यस वर्ष २ पटकको बोलपत्र आव्हान रद्ध भएर तेस्रो पटक पौषमा ठेक्का लागेको थियो । पौष २५ मा सम्झौता गरेर यती छोटो समयमा कोटो अनुसारको खाद्यान्न ढुवानी भएको यो पहिलो पटक भएको कम्पनीका शाखा प्रमुख नबिन बस्नेतले बताए ।
यस वर्षको ठेक्का श्री शुसान्ती निर्माण सेवाले पाएको थियो ।





















