गोरखा । गोरखाको भच्चेकमा रहेको सिस्नेरी भिरबाट लडेर १ जना शिक्षकको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका ३ घर भएका ३३ बर्षिय सुसिल अधिकारीको भिरबाट लडेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।
लमजुङको बिचौरमा रहेको एक बिद्यालयका शिक्षक रहेका अधिकारी बिहीबार भच्चेक बजारमा सामान खरिद गरेर लमजुङको बिचौर तर्फ जादै गर्दा बेपत्ता भएका थिए । बिचौरमा नै श्रीमती संग बस्दै आएका अधिकारी रातीसम्म पनि डेरामा नपुगे पछि उनका श्रीमतीलाई आफन्तलाई खबर गरेको र शुक्रबार खोजी गर्ने क्रममा भिरबाट लडेको अवस्थामा फेला परेको हो ।
अजिरकोट गाउँपालिका ३ को सिस्नेरी भिरबाट लडेर १५० मिटर तल रहेको चेपे नदी किनारमा उनको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
सामान किनेर आफै बोकेर बिचौर तर्फ गएका अधिकारीको भिरमा सामान छरप्रष्ट रहेको र भिरको बिचमा ज्याकेट समेत फेला परेको भच्चेक प्रहरी चौकीले जानकारी दिएको छ ।
शिक्षक अधिकारीको शव अहिले पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।




















