गोरखा । गोरखा नगरपालिकाको कार्यपालिका बैठक ६ जना वडाध्यक्षले बहिष्कार गरेका छन् । नगर प्रमुख राजनराज पन्तले चुनावलक्षित टुक्रे योजनामा बजेट बाँडफाँट गरेको आरोप लगाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका वडाध्यक्षहरु बिहीबारको बैठक बहिष्कार गरेका हुन् ।
नगरसभामा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल चल्दै गर्दा ६ जना वडाध्यक्षले बैठक बहिष्कार गरेर बाहिरीएको गोरखा नगरपालिका १० का वडाध्यक्ष देवीबहादुर बस्नेतले बताए । हाम्रो जानकारी बिनै बिनियोजित बजेट रकमान्तर गरेर कार्यकता पोस्ने नयाँ योजना छनौट गर्न लागेका कारण बैठक बहिष्कार गरेको बस्नेतले बताए ।
कोभिडका कारण काम हुन नसेका चालु योजनाको बजेट रकमान्तर गरी नगर प्रमुख पन्तले १ करोड ४६ लाख रुपैयाँ विभिन्न नयाँ योजनामा विनियोजनाको तयारी गरेका थिए ।
नगरकै गौरव हुने खालका योजनामा बजेट हाल्नुको साटो टुक्रे योजनामा बजेट बिनियोजन गरेका कारण गोरखा नगरपालिका ३, ७, १०, ११, १३ र १४ नम्बरका वडाध्यक्षले बैठक बहिष्कार गरेका थिए ।
वडाध्यक्षले बैठक बहिष्कार गरेको बिषयमा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत दिनेशराज पन्तले त्यस्तो नभएर खाना खान बैठक बाट बाहिरीएको बताए । ‘अहिले वहाँहरु सबै पुनः बैठकमा बस्नु भएको छ’ अधिकृत पन्तले भने ।
शुक्रबार गोरखा नगरले नवौं नगरसभाको आयोजना गरेको छ ।


