गोरखा । बुढीगण्डकी डुवान क्षेत्रका जनप्रतिनिधीहरुले आयोजनाबाट पूर्ण रुपमा बिस्तापित हुने प्रभावित क्षेत्रका बासिन्दाहरुको उचित पुर्नवासको माग गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा गोरखा र धादिङको सिमानामा निर्माण लागिएको बूढीगण्डकी जलबिद्यतु आयोजनाको डुवान क्षेत्रमा पर्ने दुवै जिल्लाका प्रभावित वडाका वडाध्यक्षहरुले सयुक्त हस्ताक्षर सहितको ध्यानकर्षण पत्र आयोजनालाई बुझाएका हुन् ।
कार्यालयलाई बुझाइएको १६ बुदेँ ध्यानकर्षण पत्रमा घरगोठ र बोट बिरुवाको मुआब्जा बितरण गर्नुभन्दा पहिला वातावरणीय प्रतिबेदनका आधारमा पुर्नबासको व्यवस्था गर्न गर्नुपर्ने जनप्रतिनिधीहरुको माग छ ।
जनप्रतिनिधिहरुले दुवै जिल्लाको घरगोठ र बोटबिरुवाको मुआब्जा निर्धारण गर्दा एकरुपता कायम गरिनुपर्ने, सार्वजनिक जग्गामा घरटहरा निर्माण गरि बसोबास गर्दे आएकाहरुको हकमा वडाको मुचुल्कको आधारमा मुआब्जा दिने व्यवस्था मिलाउनु पर्ने माग पनि गरेका छन् ।
त्यस्तै सार्वजनिक संरचनाहरु बिधालय, घरगोठ मठमन्दिर, स्वास्थ्य संस्था आदीको उचित व्यवस्था गर्नुपर्ने, जग्गा भाडामा लिई निर्माण गरिएको संरचनाको हकमा जसले निर्माण गरेको हो उसैलाई मुआब्जा दिनुपर्ने व्यवस्था गर्न पनि जनप्रतिनिधीहरुले आयोजनाको ध्यानकर्षण गराएका हुन् ।
ध्यानकर्षण पत्रमा फिल्डबुक कायम भै पुर्जा प्राप्त नभएका व्यक्तिहरुको अविलम्ब पुर्जा दिलाई मुआब्जा बितरण गर्नुपर्ने, सुकुम्बासीहरुका लागी उचित बासको व्यवस्था गर्नुपर्ने, छुट भएका भौतिक संरचनाहरुको पुर्न सर्वे गर्नुपर्ने, घरगोठ तथा बोट बिरुवाको मुआब्जा बितरण गर्नुभन्दा पहिला मूल्य सूची सार्वजनिक गर्नुपर्ने माग जनप्रतिनिधीहरुले गरेका छन् ।
त्यस्तै गरी, घरगोठको मुआब्जा निर्धारण गर्दा २०६९ सालदेखि हालसम्मको भौतिक संरचनालाई आधार मान्नुपर्ने, डुवान क्षेत्र भित्र दर्ता भई सञ्चालनमा रहेका फर्महरुको उचित सम्बोधन गर्नुपर्ने माग पनि आयोजना समक्ष जनप्रतिनिधिहरुले राखेका छन् ।
जनप्रतिनिधिहरुले आयोजनाको तत्काल मोडालिटी तयार गरी निर्माण कार्य अघि बढाउन पनि कार्यालयको ध्यानकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेख गाउँपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरुको हस्ताक्षर रहेको छ ।


