गोरखा । गोरखाको जनसंख्या २ लाख ५१ हजार ४९ जना रहेको प्रारम्भीक विवरण सार्वजनिक भएको छ । ०५८ साल यतादेखी गोरखाको जनसंख्या क्रमश.घट्दै गएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।
बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जानकारी दिदै गर्दा गोरखाको जनसंख्या भने बिगत ३० बर्षदेखी क्रमिक रुपमा घट्दै गएको विवरणमा सहजै देख्न सकिन्छ ।
जिल्ला जनगणना कार्यालय गोरखाका अनुसार ०४८ सालमा २ लाख ५२ हजार ५२४ जना रहेकोमा त्यसको १० बर्ष पछि गएको जनगणनामा गोरखाको जनसंख्या बढेर २ लाख ८८ हजार १३४ पुगेको थियो । त्यस पछिका जनगणनामा गोरखाको जनसंख्या क्रमिक रुपमा घट्दै गएको हो ।
कार्यालयबाट प्राप्त विवरण अनुसार ०६८ सालमा १७ हजार ७३ जना घटेर २ लाख ७१ हजार ६१ जना रहेकोमा यस पटकको जनगणनामा पुनः २० हजार १२ जना घटेर २ लाख ५१ हजार ४९ जना रहेको छ ।
राष्ट्रिय तथ्यांक अनुसार नै जिल्लामा पनि महिलाको संख्या बढी रहेको र पुरुष कम देखिएको छ । पुरुषको संख्यामा जिल्लामा महिलाको संख्या १३ हजार ५०७ जना बढी देखिएको छ । जसमा महिला १ लाख ३२ह जार २७८ र पुरुष १ लाख १८ हजार ७७१ जना रहेका छन् ।
बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार जिल्लामा परिवार संख्या ७२ हजार ८०० र घर संख्या ६८ हजार २३६ रहेको छ । कार्यालयले यो प्रारम्भीक विवरण भएका कारण यसमा थपघट हुन सक्ने जनाएको छ ।



