गोरखा । गोरखाको मनकामना मन्दिर आजदेखी नित्य पुजा मात्र हुने भएको छ । कोरोना महामारीका कारण नेपाल सरकारले मन्दिरमा नित्य पुजा बाहेक मन्दिर प्रवेशमा तिथयात्रीलाई रोक लगाउने निर्णय गरेसंगै मनकामना मन्दिरमा प्रवेशमा रोक लगाईएको हो । तर केबलकार भने बन्द हुने छैन ।
मनकामना क्षेत्र बिकास समितिको मंगलबार बसेको बैठकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पौष ३० गते गरेको निर्णय अनुसार नै मन्दिरमा बिहीबारदेखी नित्य पुजा गरेर सर्व साधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको अध्यक्ष रामकुमार जोशीले बताए ।
आजदेखी मन्दिरमा आउने श्रद्वालु भत्तजनहरुले मन्दिर बाहिर रहेको रेलिङबाट मन्दिरका सहयोगी मार्फत मात्र पूजा आजा गर्न पाउने पुजारी थापाले जानकारी दिए ।
पशु बलीको हकमा भने केबलकारमा नै रोक लगाउने तर ल्याई हालेको खण्डमा छुट्टै स्थानमा पूजाको ब्यवस्थापन गरी मन्दिर बाहिरै बली दिने ब्यवस्था मिलाईएको पनि मनकामना क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए ।


