गोरखा । गोरखाको मनकामना मन्दिर भोलीदेखी नित्य पुजा मात्र हुने भएको छ । कोरोना महामारीका कारण नेपाल सरकारले मन्दिरमा नित्य पुजा बाहेक मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेसंगै मनकामना मन्दिरमा पनि तिर्थ यात्रीलाई मन्दिर प्रवेशमा रोक लगाईएको हो ।
मनकामना क्षेत्र बिकास समितिको मंगलबार बसेको बैठकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पौष ३० गते गरेको निर्णय अनुसार नै मन्दिरमा बिहीबारदेखी नित्य पुजा सबलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको अध्यक्ष रामकुमार जोशीले बताए ।
मंगलबार र बुधबार भने सर्व साधारणले मन्दिर बन्द गरिएको बारेमा जानकारी पाउन भनेर बन्द नगरिएको समितिले जनाएको छ । तर यो बिचमा केबलकार भने बन्द हुने छैन ।
बिहीबारदेखी केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्ने मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए । बिहीबारदेखी मन्दिर आउने जो कोहीले पनि मन्दिर बाहिर रहेको रेलिङबाट पुजा गर्न समितिबाट आग्रह भएको हुदा सोही अनुसार मन्दिरका सहयोगी मार्फत मात्र पूजा आजा गर्न पाउने पुजारी थापाले जानकारी दिए ।
पशु बलीको हकमा भने केबलकारमा नै रोक लगाउने तर ल्याई हालेको खण्डमा छुट्टै स्थानमा पूजाको ब्यवस्थापन गरी मन्दिर बाहिरै बली दिने ब्यवस्था मिलाईएको पनि मनकामना क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए ।
मनकामना मन्दिरमा अहिले पनि दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसहरुले पूजा आजा गर्दै आएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए । पूजारी थापाले पनि बिहीबारदेखी माघ मसान्तसम्म मन्दिर भित्र नित्य पूजा मात्र हुने जानकारी दिए ।


