गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सेवा ग्राहीहरुलाई ई–पासपोर्ट बितरण शुरु गरेको छ । प्रशासनले मंगलबारदेखी ई–पासपोर्ट बितरण शुरु गरेको हो ।
प्रशासनले पहिलो दिन १० जनाको ई–पासपोर्टको फारम भरेर केन्द्रिय सरोबरमा पठाएर विद्युतीय राहदानी शुरु गरेको प्रशासकिय अधिकृत गणेश भट्टराईले बताए । ‘हामीले पहिलो दिन १० जनाको ई–पासपोर्टको काम सम्पन्न गरेका छौ’ भन्दै ‘अब १५ दिनमा नै जिल्लाबाट नै सेवा ग्राहीले ई–पासपोर्ट पाउने छ’ अधिकृत भट्टराईले भने ।
सरोबर जडानको काम सम्पन्न भए लगत्तै प्रशासनले जिल्लाबाट नै ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी बितरण थालेको हो । यो सेवा सुरु भए संगै जिल्लाबाट बिद्युतीय राहदानी लिन राजधानी धाउनु पर्ने कामको अन्त्य भएको छ ।
मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी हुने भनिएता पनि गोरखा प्रशासनले आवश्यक तयारी पुरा नगर्दा ढिला भएको हो । डिजिटल चिपमा आधारित ई–पासर्पोट जारी भएपछि सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने छ ।
जिल्लाबाट बनाउँदा ५ हजार शुल्क तिर्नुपर्नेछ । सेवाग्राहीले जिल्ला प्रशासनमा पुगेर फारम र आवश्यक डकुमेन्ट बुझाउन सक्नेछन् । उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ । विभागले ई–पासपोर्ट जारी गरेर हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयलाई पठाउनेछ । यो पासपोर्ट जारी गर्न धेरै समय लाग्दैन । सेवाग्राहीलाई पनि कार्यालयमा धेरै समय कुर्नुपर्दैन । विगतमा प्रदान गर्दै आएको पासपोर्ट भन्दा यो पासपोर्ट बनाउन निकै कम समय लाग्छ ।
यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिन्थ्यो । विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ ।
सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ । सीमित सेवाग्राहीलाई भने विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ ।



