कम्पनीकाे गाेरखा शाखामा रहेकाे चामल
गोरखा । लामो समयको अन्तराल पछि उत्तरी गोरखामा खाद्यान्न ढुवानीको काम सुरु भएको छ । चुमनुब्री गाउँपालिकाको सदरमुकाम रहेको सिर्दीबासमा चामल ढुवानी सुरु भएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी गोरखाले जनाएको छ ।
लामो समयसम्म पनि उत्तरी गोरखाको डिपोहरुमा खाद्यान्न ढुवानी हुन नसक्दा करिब करिब डिपो रित्तै हुन थालेको थियो । डिपोमा खाद्यान्न ढुवानीकालागी परेको टेन्डर स्विकृतीमा ढिलाइ भएकै कारण डिपोमा खाद्यान्न अभाव हुन थालेको थियो ।
पौष २५ गते कम्पनी र खाद्यान्न ढुवानीकर्ता बिच सम्झौता भए लगत्तै आइतबारसम्म सिर्दीबास डिपोमा १ हजार क्विन्टल चामल पुगी सकेको कम्पनीको गोरखा शाखाले जानकारी दिएको छ ।
डिपोमा अहिले सोना मन्सुली, मकवानपुरे र स्टिम जिरा मसिनो पुगेको छ । सो डिपोबाट प्रति केजी सोना मन्सुली ५२ रुपैयाँ, मकवनपुरे ५० रुपैयाँ र स्टिम जिरा मसिनो ६६ रुपैयाँमा कम्पनीले बिक्री गर्दै आएको छ ।
सिर्दीबासमा रहेको डिपोमा यो बर्ष ३ हजार ५०० क्विन्टल चामल ढुवानी गर्ने सम्झौता भएको छ ।


