गोरखा । कोरोना संक्रमितको संख्या दैनिक रुपमा तिव्र गतिमा बढि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले धेरै मानिस भेला हुने कुनै पनि कार्यक्रमहरुमा रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै भेला, मेला, महोत्सव एवं सामाजिक काममा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको हो ।
पौष २८ गते शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समन्वय बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न नगराउन भनेको छ । संघिय सरकारले समेत विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।
संक्रमणको महामारी रोक्ने उद्वेश्यका साथ जिल्ला भित्रका सबै विद्यालयहरु बन्द गरेको छ । बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएउने निर्णय गरेको छ ।
सूचनामा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनितिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने, नगराउने’ भन्दै सूचनामा ‘अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानिय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी गराई गर्ने ब्यवस्था मिलाउने’ भनिएको छ ।
यो निर्णय संगै केही दिन पछि गोरखाको छेवेटारमा हुन लागेको मेला भने अनिश्चित भएको छ ।






















