गोरखा । सत्तारुढ दल नेपाली कांग्रेस सहितको गडबन्धनबाट गण्डकी प्रदेशबाट गोरखाकी कमला पन्तको नाम सिफारीस गरिएको छ । पन्तले हालै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सह महामन्त्रीमा हारेकी थिइन ।
गठबन्धनको नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको रिक्त पदका लागि उम्मेद्वार तय गरेका छन् ।
एमालेको आइतवार बसेको सचिवालयको बैठकले र कांग्रेसको सोमवार बसेको केन्द्रीय समितिको बैठकले उम्मेद्वारको टुंगो लगाएको हो । यस्तै, एकीकृत समाजवादीले पनि शीर्ष नेता तहबाट उम्मेद्वार टुंगो लगाएको हो ।
सत्ता गठबन्धनका साझा उम्मेद्वारसँग यो पटक एमाले निर्वाचनको मैदानमा एक्लै उत्रिने तयारीमा छ । गठबन्धनको भोट क्रस नभएको खण्डमा भने यो पटकको राष्ट्रिय सभाको निर्वाचन एमालेका लागि प्रतिस्पर्धा मात्रै देखिन्छ ।
राष्ट्रिय सभाको ४ वर्षे कार्यकाल अन्तर्गत २० जनाको पद खाली हुन लागेको हो । १९ जनाका लागि माघ १२ गते चुनाव हुने तय भएको छ भने १ जना मनोनीत हुनेछन् ।
कांग्रेसबाट को-को बने उम्मेद्वार
कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्र उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादी को-को बने उम्मेद्वार
प्रदेश १ मा जयन्ती राई, वाग्मतीमा गोमा तिमिल्सिना, लुम्बिनीमा राज्यलक्ष्मी गैरे, कर्णालीमा उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी शाह (गरिमा)लाई उम्मेद्वार बनाएको छ ।
सत्ता गठबन्धनको सोमवार बालुवाटारमा बसेको बैठकले एमालेका तर्फबाट रिक्त हुने ८ स्थानहरुमा तालमेल गर्ने सहमति गरेको थियो । आफ्ना रिक्त स्थानमा यथावत उम्मेद्वार उठाउने सहमति गठबन्धनमा बनेको छ ।
चार वर्षे कार्यकाल अन्तर्गत एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र १ जना मनोनीत सांसदको समयावधि सकिन लागेको हो ।
एमालेका १९ जना को-को बने उम्मेद्वार
प्रदेश १ अन्तर्गत झापाबाट खुलामा देवराज घिमिरे र महिलामा सुमित्रा भण्डारी, अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा सोलुखम्बु, प्रदेश २ मा खुलातर्फ धनुषाबाट असर्फी भिनवार यादव महिलामा रौतहटबाट विना साह उम्मेद्वार छन् ।
वाग्मती प्रदेश अन्तर्गत ललितपुरबाट खुल्लामा गोपाल शाक्य, महिलामा सिन्धुलीबाट निरकुमारी कुँवर (निरु), गण्डकीमा खुल्लातर्फ कास्कीबाट पूण्यप्रसाद पौडेल र महिलातर्फ नवलपुरकी लीला पोखरेल, दलिततर्फ बाग्लुङबाट गोविन्दबहादुर नेपाली उम्मेद्वार बनेका छन् ।
लुम्बिनी प्रदेशको दाङबाट खुल्लामा रामदयाल गुप्ता र महिलातर्फ भारती खनाल तथा दलिततर्फ कृष्णबहादुर सुनार उम्मेद्वार बनेका छन् ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेतबाट खुल्लामा चुडामणि शर्मा र महिलाबाट जुम्लाकी गंगा थापा महत र अल्पसंख्यकतर्फ दैलेखका पदमबहादुर माझीलाई एमालेले अघि सारेको छ ।
सूदुरपश्चिमको डोटीबाट खुल्लामा डिल्लीराज भट्ट र महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा र दलिततर्फ बैतडीबाट नरेश विकलाई उम्मेद्वार चयन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) को भागमा परेको ५ उम्मेद्वारको टुंगो लगाउने जिम्मा भने अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । आइतवारको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
१ सिट पाएको सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चा भने अझै छलफलमा नै ब्यस्त भएको छ ।




















