गोरखा । सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा अग्रेजी नयाँ बर्षदेखी प्रार्थमिक आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ ।
पालिका र गोरखा लायन्स आँखा सेवा केन्द्र बिच पौष ८ गते बिहिबार भएको सम्झौता अनुसार अग्रेजी नयाँ बर्षदेखी चित्रेपोखरीबाट प्रार्थमिक आँखा उपचार सेवा प्रारम्भ हुन लागेको हो ।
आज सिरानचोक गाउँपालिकाको तर्फबाट अध्यक्ष राजु गुरुङ र केन्द्रका तर्फबाट अध्यक्ष योङकुमार श्रेष्ठ बिच आगामी २ बर्षसम्म केन्द्रकालागि पालिकाले चित्रेपोखरीमा रहेको स्वासथ्य केन्द्रलाई आँखा उपचार केन्द्र सञ्चालन गर्न अनुमती दिएको गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त आँखा उपचार केन्द्रबाट आँखाको मोतिबिन्दु, अल्छि आँखा, अन्धोपन पहिचान गरिनुका साथै शल्यक्रिया गर्न आवश्यक देखिए जिल्ला सदरमुकाम ल्याएर गरिने पनि सेवा केन्द्रले जनाएको छ ।
सम्झौता लगत्तै सेवा केन्द्रले सामाग्री जडान र नेत्र सहायकको ब्यवस्था गर्न लागेको जनाएको छ । सम्झौता मुताविक नेत्र सहायकलाई दिईने मासिक लबल भने पालिका र सेवा केन्द्रले आधा आधा ब्यहोर्ने सहमती भएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जनाकारी दिए ।
चित्रे पोखरीमा आँखा उपचार केन्द्र स्थापना संगै त्यस क्षेत्रका सर्व साधारणले अव सहज सेवा पाउने पनि पालिकाले विश्वास लिएको छ ।





















