गोरखा । गोरखा सदरमुकाममा रहेको खेलकुद मैदानमा खेल गतिविधी बाहेक अन्य गतिविधी नगर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।
हरेक बर्ष जस्तो खेल मैदानमा महोत्सव आयोजना गर्दा मैदान बिग्रिन थालेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधीको लागी कुनै पनि खेल मैदान प्रयोन गर्न र प्रयोग गरेमा वा प्रयोग गर्न दिएमा सम्बन्धीत निकायलाई कारवाही गरिने ब्यहोराका पत्र जिल्ला खेलकुद बिकास समितिलाई दिईएको हो ।
गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले हिजो एक पत्र पठाउदै जिल्ला खेलकुद बिकास समितिलाई खेल मैदान खेलकुद गतिविधी बाहेक अन्य गतिविधीमा प्रयोग गर्न दिएको खण्डमा सम्बन्धीत कर्मचारीलाई कारवाही गर्ने ब्यहोराको पत्र पठाएको छ ।
मन्त्री राजिव गुरुङद्वारा हस्ताक्षरित पत्रमा ‘नवौं राष्ट्रिय खेलकुद कार्यक्रम यस गण्डकी प्रदेश भित्र रहेका खेल मैदान (रंगशाला) हरुमा निकट भविष्यमा सञ्चालन हुन गईरहेको’ भन्दै ‘बार्षिक कार्यक्रम तथा नवौं राष्ट्रिय खेलकुद कार्यक्रम सञ्चालनाथए यस प्रदेशमा रहेका खेल मैदानहरुको स्तरोन्नती लगायतका कामहरुको लागि मन्त्रालयल अहोरात्र लागिरहेकै छ, तसर्थ तहाँ समिति मातहत रहेका खेल मैदानहरुमा खेल सम्वन्धी नियमित गविविधी तथा खेल मैदानको स्तरोन्नती बाहेकका अन्य कुनै पनि प्रकारका काम कारवाहीहरु नगर्न नगराउनु हुन’ भनेको छ ।
पत्रमा ‘अन्यथा केही गरेको पाईए वा भेटिएमा सम्वन्धित जिम्मेवार पदाधिकारीलाई नियमानुसार कडा कारवाही गरिने ब्यहोरा समेत जानकारी छ’ भन्दै मन्त्रालयले बिहिबार जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाएको हो ।
सोही पत्रको ब्यहोरा जिल्ला प्रशासन कार्यालयमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
मेला महोत्सवका लागी हामीले अनुमती दिएका छैनौ : प्रजिअ आचार्य
जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले खेल मैदानमा मेला महोत्सव गर्न आफुहरुले अनुमती नदिएको बताए । त्यस माथि पनि कोरोना संकटकै बेला मेला महोत्सव आयोजना गर्न दिनु उपयुत्त नभएको भन्दै युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशबाट समेत खेल मैदान प्रयोग गर्न नदिनु भन्ने ब्यहोराको पत्र प्राप्त भएकोले खेल मैदानमा मेला महोत्सव गर्न नदिने प्रजिअ आचार्यले बताए ।
गोरखा चेम्बर अफ कमर्सले कृषि ब्यापार तथा प्रवद्र्वन मेला भन्दै यही पौष ५ गतेदेखी १५ गतेसम्म गोरखा सदरमुकाममा रहेको खेल मैदान प्रयोग गर्न लागे लगत्तै एन्फा गोरखा र आयोजक बिच रस्साकस्सी बढ्न थालेको छ ।
बर्षेनी यो वा त्यो नाममा खेल मैदान प्रयोग गर्दा मैदान स्तरोन्नतीमा समस्या भएको भन्दै एन्फा गोरखाले समेत खेल मैदानमा मेला महोत्सव नगर्न भनेको छ ।
मन्त्रालयको पत्रको कार्यान्वय गराउने काम प्रशासनको हो : मेयर पन्त
महोत्सव नजिकीदै गर्दा र विवाद बढन थाले पछि गोरखा चेम्बर अफ कमर्सले बिहिबार मात्रै गोरखा नगरपालिका संग मेला महोत्सवको आयोजनाका लागी अनुमती मागेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले पठाएको पत्रको गोरखा नगरपालिकालाई पनि प्राप्त भएको र पत्रको कार्यान्वयन गराउने पक्ष भनेको प्रशासन भएकोले प्रशासनले नै निर्णय लिनुपर्ने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।
मेलाको तयारी गरिसके पछि मात्र अनुमती माग्न आउनु र जिल्ला खेलकुद बिकास समितिले समेत नगरपालिका संग समन्वय नै नगरी खेल मैदान दिने सहमती गर्नुले यस बिषयमा आफुले बोल्न उपयुत्त नहुने मेयर पन्तको धारणा रहेको छ । ‘खेल मैदान संग हाम्रो स्वामित्व छैन, त्यस माथि पनि सम्वन्धीत मन्त्रालयबाट पत्र प्राप्त भएकोले यस बिषयमा प्रशासनले नै निर्णय लिनु उपयुत्त हो’ मेयर पन्तले बताए ।
राजनैतिक दलले बन्द गर भने बन्द गर्न तयार छौ : अध्यक्ष श्रेष्ठ
मेलाको सबै तयारी पुरा भएको र १५–१६ लाख खर्च भइसकेको कारण कुनै पनि हातलमा मेला चलाउने गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । तर मेला नचलाउन सबै राजनैतिक दलले आग्रह गरेको खण्डमा भने हामी मेला बन्द गर्न तयार रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला खेलकुद बिकास समिति संग मेला महोत्सव गर्न मंसिर २३ गते लिखित सहमती भएकोले अन्य निकायले अनावश्यक बखेडा गरेको उनको आरोप छ ।
चेम्बरले आयोजना गरेको मेला विवादमा आए संगै आज जिल्ला प्रशासनमा सर्व पक्षिय बैठकको आयोजना गरिएको छ ।
मेलाको सम्पूर्ण तयारी पुरा भएको र मेलाकै बिषयलाइ लिएर बैठक आयोजना गरिएकोले आजको बैठकको निर्णय के आउने हो सबैको चासोको बिषय बनेको छ ।






















