ईन्सेटमा लामा
गोरखा । गोरखाको उत्तरी क्षेत्रबाट ५२३ केजी कुटकी सहित प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका ब्यत्ती चुमनुब्री गाउँपालिका १ सामागाउँका ग्याल्जेन लामा रहेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले लामालाई गएको बुधबार धार्चे गाउँपालिका ५ को माछीखोला क्षेत्रमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
गोरखाको उत्तरी क्षेत्रमा संकलन गरेर राजधानी लान लागेको अवस्थामा ३२ वटा बोरा भित्र रहेको कुटकी र लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मनास्लु संरक्षण क्षेत्रबाट संकलनको अनुमती लिएका लामाले बिक्रीका लागी छुट पुर्जी नलिएका कारण पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
पक्राउ परेको कुटकी र लामालाई आजै डिभिजन बन कार्यालयमा बुझाईएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
यता डिभिजन बन कार्यालयका सहायक बन अधिकृत होमबहादुर बल्छौडीका अनुसार मनास्लु संरक्षण क्षेत्र भित्रको क्षेत्राधिकार भएकोले बरामद सामाग्री र लामालाई संरक्षण क्षेत्रमा नै पठाउन लागिएको जानकारी दिए ।
अधिकृत बल्छौडीका अनुसार पक्राउ परेका लामा संग संकलनकालागी संरक्षण क्षेत्रलाई तिरेको राजश्वको रसिद र छुट पूर्जीकालागी सिफारीस समेत भएकोले अनुसन्धानकालागी संरक्षण क्षेत्रलाई बुझाउन लागिएको जानकारी दिए ।
यता मनास्लु संरक्षण क्षेत्रका संरक्षण अधिकृत पशुपती अधिकारीले भने डिभिजन बन कार्यालयको क्षेत्रधिकार भित्र पक्राउ परेका कारण डिभिजन बन कार्यालयले नै कारवाही गर्नुपर्ने बताउछन् । ‘मैले पनि पक्राउ परेको सुनेको छु । हामीकहाँ आई पुगेको छैन । आए पछि अनुसन्धान गरेर मात्र के हुन्छ भन्न सकिने’ अधिकृत अधिकारीले बताए ।
अधिकृत अधिकारीका अनुसार यस्ता मुद्वामा नेताहरुको अनावश्यक दवाव आउने हुनाले डिभिजन बन कार्यालयले संरक्षण क्षेत्रलाई सुम्पन लागेको आरोप समेत लगाए ।




















