लमजुङ । गोरखाका २ जनासहित ४ जनालाई प्रहरीले अबैध धुपी र गुच्छी च्याउ संगै पक्राउ गरेको छ ।
गएराति मनाङबाट काठमाण्डौं लैजादै गरेको अवैध धुपीसहित उनीहरुलाई लमजुङको बेशीशहरबाट पक्राउ गरिएको डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपाली र बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घले रहेका छन् ।
पक्राउ पर्नेमा अन्यमा मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीय कर्मा छिरिङ गुरुङ रहेको लमजुङ प्रहरीले जनाएको छ ।
नेपालीले चलाएको ग. १ ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र घलेले चलाएको ग १ ज ७७३७ नम्बरको जिपबाट २०० किलो धुपीको पात र ३०० ग्राम गुच्छी च्याउ बरामद गरेको हो ।
बोराभित्र लुकाइछिपाई ल्याएको अवस्थामा २४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद अवैध धुपी र गुच्छी च्याउसहित पक्राउ परेकालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि डिभिजन बन कार्यालय लमजुङमा बुझाइएको प्रहरीले जनाएको छ ।




















