गोरखा । एम्बुलेन्स खरिदका लागि अजिरकोट गाउँपालिका २ को खरिबोटमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
खरिबोट, हंसपुर, सिम्जुङ, घ्याच्चोक र लम्जुङ जिल्लाको दुधपोखरी गाउँलाई लक्षित गरेर एम्बुलेन्स खरिद सहयोगार्थ पुराणको आयोजना गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालले बताए ।
राधाकृष्ण मन्दिर निर्माणका लागि अजिरकोट गाउँपालिकाले ८ लाखमा बजेट विनियोजित गरिसकेको छ ।
पुराणमा आरती, सङ्गीतमय कथा प्रवचन, भजनकीर्तनसहित दिव्य झाँकी दर्शनलगायत कार्यक्रम हुने बताइएको छ । मंसिर ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिरोमणी पं.दिपकप्रसाद पौडेलले कथावाचन गर्नेछन् ।
महायज्ञबाट करिब ५० लाख संकलन हुने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ ।
महायज्ञबाट संकलन भएको रकमले एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।




















