गोरखा । गोरखामा सवारी नियम उल्लघंन गर्ने २ हजार ९०० सवारी साधनबाट करिब २० लाख राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्ला भित्र ट्राफिक नियम उल्लघंन गर्ने उत्त सवारी साधनबाट आर्थिक बर्षको पहिलो ४ महिनामा १० लाख ६७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको हो ।
जिल्लाको विभिन्न स्थानमा गएको साउन, भाद्र, असोज र कार्तिक महिनामा सवारी नियम उल्लघंन गर्ने २ हजार ९०० सवारीबाट कार्यालयले उत्त रकम राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आर्थिक बर्षको पहिलो चार महिनामा सबै भन्दा बढी दुई पाँग्रे सवारीले ट्राफिक नियम उल्लघंन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार ४ महिनाको अवधीमा १ हजार १८ वटा मोटरसाईकल कारवाहीमा परेको छ । जसबाट कार्यालयले ७ लाख ३६ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ ।
दुई पाँग्रे सवारी पछी जिल्ला भित्र ट्याक्टर सवारी नियम उल्लघंन गर्नेमा परेको छ । साउन, भाद्र, असोज र कात्र्तिक महिनामा ५२१ वटा ट्याक्टर कारवाहीमा परेको कार्यालयले जनाएको छ । जसबाट कार्यालयले ३ लाख ५७ हजार राजश्व संकलन गरेको छ ।
सदरमुकाम तथा ग्रामिण भेगमा समेत चल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियम पालना गरे नगरेको बिषयमा छड्के चेकजाँच गर्ने गरेको पनि कार्यालयले जनाएको छ ।
ट्याक्टर पछी चार पाँग्रे सवारी अन्तरर्गत कार, जिपले पनि ट्राफिक नियम उल्लघंन गरेको देखिन्छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार आर्थिक बर्षको पहिलो ४ महिनामा मात्रै ५०२ वटा कार, जिप कारवाहीमा परेका छन् । जसबाट कार्यालयले ३ लाख ३६ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको देखिन्छ ।
ठुला सवारी अन्तरर्गत ट्रक, टिपर र बस पनि कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीको कारवाहीमा ३९७ वटा ट्रक र टिपरले सवारी नियम उल्लघंन गरेको देखिन्छ । जसबाट कार्यालयले उत्त सवारी साधनबाट २ लाख ७८ हजार र ३८२ वटा बसबाट २ लाख ५९ हजार राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
दैनिक जसो हुने चेक जाँचमा सवारीको कागज पत्र लिएर नहिड्ने, सवारी अनुमती पत्र लिएर नहिड्ने ओभर लोड र क्षमता भन्दा बढी यात्रु राखेर सवारीमा सवार गराउनेको संख्या बढी देखिन थालेको कार्यालयले जानकारी दिएको छ । त्यस्ता सवारीहरुलाई कारवाही गरी राजश्व काटिएको र सचेत गराईएको पनि कार्यालयले जनाएको छ ।




















