गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आर्थिक बर्षको पहिलो ४ महिनामा मात्रै ४ हजार भन्दा बढीलाइ नागरिकता बितरण गरेको छ ।
बैदेशिक रोजगारी र अध्ययनमा जान छुट भए संगै नागरिकता बनाउनेहरुको संख्या पछिल्लो ४ महिनामा ४ हजार ३८२ जनाले नागरिकता लिएको गोरखा प्रशासनले जनाएको छ ।
कोरोना महामारी कम भएसंगै बैदेशिक रोजगारी र अध्ययनका लागी जान प्रतिबन्ध फुकुवा भए लगत्तै गोरखा प्रशासनमा नागरिकता बनाउनेहरुको भिड लागेको प्रशासकिय अधिकृत चुढानिधी तिवारी बताए । ‘दशै तिहार पछी झनै नागरिकता बनाउनेहरुको भिड लागेको’ भन्दै अधिकृत तिवारीले ‘वैदेशिक रोजगारी र विदेशमा गएर अध्ययन गर्नेहरुलाई खुकुलो भएकोले पनि नागरिकता लिनेको भिड लागेको हो’ बताए ।
प्रशासनले सोही अवधीमा २ हजार १९९ थान प्रतिलिपी समेत बितरण गरेको छ । प्रशासनले उपलब्ध गराएको रेकर्ड अनुसार नयाँ नागरिकता लिनेहरुको संख्या साउन महिनामा ३०४ जना महिला र ३१६ जना पुरुष, भाद्र महिनामा ३३७ जना महिला र ४७७ जना पुरुष तथा असोज महिनामा ५१३ जना महिला र ५१५ जना पुरुषहरु छन् ।
त्यस्तै गरी कात्र्तिक महिनामा यो संख्या डबल देखिएको छ । प्रशासनका अनुसार कात्र्तिक महिनामा ९७० जना महिला र ९५० जना पुरुषले नयाँ नागरिकता लिएका छन् ।
यो संगै प्रतिलिपी लिनेको संख्यामा पनि ह््वात्तै बढेको छ । साउनमा १९२ जना महिला र २८२ जना पुरुषले प्रतिलिपी लिएका छन् भने भाद्रमा १६८ जना महिला र २२२ जना पुरुषले प्रतिलिपी लिएको प्रशासनले जनाएको छ ।
त्यस्तै गरी असोजमा २४५ जना महिला र २९२ जना पुरुषले प्रतिलिपी लिएकोमा कात्र्तिकमा यो संख्या बढेर ३६० जना महिला र ४३८ जना पुरुषले प्रशासनबाट प्रतिलिपी लिएका छन् ।
नागरिकता संगै नेपाली राहदानी लिनेको संख्यामा पनि बढोत्तरी भएको प्रशासनले जनाएको छ । सोही अवधीमा १ हजार ३८१ जनाले प्रशासनबाट द्रुतको सिफारीस लिएको र जिल्लामा नै ३ हजार ९७ जनाको फारम संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
जिल्लामा संकलन गरिएको नेपाली राहदानीको फारमबाट मात्रै प्रशासनले ४ महिनामा १ करोड ५४ लाख ८५ हजार राजश्व संकलन गरेको छ ।




















