काठमाण्डौं । दुई जना सुन्दर जवान छोरीहरु गुमानु पर्दाको पिडालाई समेटेर तयार पारिएको वियोगान्त गीत ‘आई मिस यु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नै जीवन भोगाईलाई समेटेर लेखिएको यस गीतकी गीतकार हुन् राजश्री बस्न्यात श्रेष्ठ । गीतमा स्वर नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईको रहेको छ ।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा स्वयम् गीतकार श्रेष्ठ आमाको भूमिकामा देखिएकी छिन् भने गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् । उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘मेरो मन तिमी संगै’,‘मेरी प्यारी आमा’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । आफ्ना सिर्जना मार्फत श्रेष्ठ समाजमा सकारात्मक संदेश र आफु जस्तै पिडाबाट गुज्रिरहेकाहरुलाई गीत संगीत मार्फत उत्साह दिन चाहान्छिन् ।
दर्शक स्रोताबाट म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।




















