गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका फोहोर व्यवस्थापन गर्ने जिम्मा नीजि क्षेत्रलाई दिएको छ ।
नगरपालिकाले नगर क्षेत्र भित्रका फोहोर संकलन गर्ने र त्यसको व्यवस्थापन गर्ने लगायतका सवै जिम्मेवारी क्लिन गोरखा प्रा.लि नामको नीजि क्षेत्रलाई दिएको नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले जानकारी दिए ।
नगरबासीहरुले नगरक्षेत्र भित्रका फोहोर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाई रहेका बेला हालै प्रा.लिसंग सम्झौता गरी मंगलबारदेखि फोहोर उठाउने सवै जिम्मेवारी दिएको अधिकृत घिमीरेले बताए ।
प्रा.लिले २ लाख धरौटी राखेर फोहोर संकलनको काम सुरु गरिसकेको छ । सम्झौता अनुसार अबको ६ महिनासम्म पहिलेकै कर्मचारी सरसफाईमा खछिने छन् । उनीहरुलाई नगरपालिकाले आधा तलब दिने छ भने कम्पनीले बाँकी तलब ब्यहोर्ने छ । त्यस पछि भने प्रालिले नै तलब खुवाउनु पर्ने शर्त राखिएको छ ।
हाल नगर क्षेत्रको सरसफाईमा ७ जना कर्मचारीहरु खटिदै आएका छन् । सम्झौतामा नगरपालिकाले प्रयोग गर्दै आएको फोहोर उठाउने १–१ जटा ट्याक्टर र टिप्पर समेत १ बर्षका लागि प्रालिलाई निशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।
प्रालिले नगरपालिकाको मापदण्ड भित्र रहेर नगरबासीहरुको फोहोर व्यवस्थापनका लागी शुल्क लिन पाउने अधिकार दिईएको गोरखा नगरपालिकाले जनाएको छ ।
प्रालि संग ५ बर्षका लागि नगरपालिकाले सम्झौता गरेको छ ।




















