गोरखा । सहिद लखन गाउँपालिकाले मनसुनजन्य बिपतमा परेका १३ घर परिवारलाई राहात सहयोग उपलब्ध गराएको छ ।
गाउँपालिकाले बाढी, पहिरो लगायतबाट पूर्ण रुपमा बिस्थापित भएका र क्षति पुगेकाहरुलाई राहात उपलब्ध गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगरका अनुसार बाढी र पहिरोमा परी घर पूर्ण रुपमा क्षति पुगेका ५ जना परिवारलाई २० हजार रुपैयाँका दरले र उच्च जोखिमा परेका ८ घर परिवारलाई ६ हजार रुपैयाका दरले राहात सहयोग उपलब्ध गराएको छ ।
पूर्ण बिस्थापित भएकाहरुमा वडा नम्बर ७ का ३ जना, वडा नम्बर ६ स्थित धैरुङका १ जना र वडा नम्बर १ बक्राङका १ घर परिवार रहेको गाउँपालिकाले जनाएको छ । पूर्ण क्षतिमा परेका परिवारलाई मनसुनजन्य बिपत कोष मार्फत घर पुर्ननिर्माणका लागि जिल्ला प्रसासन कार्यालयलाई समेत सिफारिस गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले पालिका स्तरीय प्रकोप व्यवस्थापन कोषबाट राहात रकम उपलब्ध गराएको हो । पालिका भित्र बाँकी रहेका अन्य १२ घर परिवारलाई समेत केही दिन भित्रै राहात उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ ।




















