गोरखा । गोरखामा नगद र सुन चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ४ बस्ने २५ बर्षका राजन परियारलाई चोरीको आरोपमा पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गएको जेठ २७ गते नगद २ लाख १२ हजार र २ तोला सुन चोरी गरी फरार भएका उनलाई गोरखा प्रहरीले हालै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
स्थानीय कुलबहादुर सार्कीको घरमा पसी बाकस भित्र राखेको २ लाख १२ हजार सहित २ तोला बराबरको सुनको गरगहना चोरी गरेको आरोपमा परियारलाई पक्राउ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै फरार भई काठमाण्डौमा लुकिछिपी बस्दै आएका उनलाई सादा पोशाकमा खटिएको प्रहरीको टोलीले राजधानीबाट पक्राउ गरी ल्याएको हो ।
पक्राउ परेका परियार बिरुद्ध नकबजनी चोरी शिर्षकमा गोरखा जिल्ला अदालतमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




















