काठमाण्डौं । सन् २००९ सम्म भुटानमा नेपाली गीत संगीत रेकर्ड गर्नु त्यहाँका नेपालीभाषीहरुका लागि सपनाजस्तै थियो । कारण थियो, सन् १९९० को दशकको सुरुमा भएको राजनीतिक हलचलसँगै सन्नाटा छाएको भाषिक गतिविधि ।
नेपालमा लामो समय शरणार्थीका रुपमा बसेका कयौ प्रतिभाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका थिएनन् । पुनर्वास प्रकियाबाट अमेरिका पुगेपछि भने धेरै नेपालीभाषी भुटानीहरुको संगीतमा रमाउने सपना पुरा भएको छ ।
नेपाली गीत संगीतमा सक्रिय भएर रमाउने मध्यका एक हुन् गीतकार गोपाल लोहार । नेपालमा रहदा उनले वरिष्ठ निर्देशक तुलसी घिमिरेको सहायक भएर चलचित्र क्षेत्रमा काम गर्ने समेत मौका पाएका थिए ।
हाल अमेरिकाको ओहायो बस्दै आएका लोहारको प्रडक्शन कम्पनी गोलो प्रडक्शन मार्फत १ दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।
हालै मात्र उनको शब्दमा रहेको ‘राधा पियारी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ ।
स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् ।
कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दाहालले छायांकन रहेको छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।
काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । दशैँ र तिहारको शुभकामना सहित निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।




















