गोरखा । गोरखामा केही साता यता कोरोना संक्रमितको संख्या ध्वात्तै घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाले आज उपलब्ध गराएको रेकर्ड अनुसार आइतबार साँझ सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ३५ मा झरेको छ ।
११ स्थानिय तह रहेको गोरखाको ५ स्थानिय तहमा कोरोना संक्रमित शुन्य छ भने ३ स्थानिय तहमा १–१ जना मात्र रहेका छन् ।
जिल्लाको गोरखा नगरपालिकामा सबै भन्दा धेरै संक्रमित देखिएको छ । गोरखा नगरपालिकामा २३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी भिमसेन थापा गाउँपालिकामा ५ जना र पालुङटार नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् ।
उता अजिरकोट, सिरानचोक र आरुघाट गाउँपालिकामा भने १–१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण कारण गोरखा जिल्ला घर भएका ५९ जनाले ज्यान गुमाएका छन् । जस मध्ये जिल्ला बाहिर २८ जना र जिल्ला भित्र ३१ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा हाल सम्म ६ हजार ६४७ जना संक्रमित भएका छन् । जस मध्ये जिल्ला भित्र ६ हजार ५४८ जना र जिल्ला बाहिर ९९ जना संक्रमित भएको कार्यालयले जनाएको छ ।





















