काठमाण्डौं । मेलबर्न अस्ट्रेलियामा रहेका गायक तथा गीतकार अभिनय निरौलाले दशैको कोशेली स्वरूप आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘हुन्न नभन’ सार्वजनिक गरेका छन् ।
रोमाण्टिक भर्सनको यस गीतमा सायरी समावेश गरेर गीतलाई थप मिठास थप्ने कोसिस गरिएको छ । युगल गायनमा रहेको गीतमा गायक निरौलाको साथमा युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।
योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन् ।
अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि.लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । ‘अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
इटहरी निवासी गायक निरौलाले यसअघि ‘अन्तै मबाट’, ‘घिर्लिङ्ग’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् । यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।




















