गोरखा । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको संघारमा आज काँग्रेस जिल्ला निर्वाचन हुदै छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार सभापति बाहेकका सबै पदम आवश्यक भन्दा बढी उम्मेदवारी परेको कारण आज मंगलबार चुनाव हुने भएको छ ।
सभापतिमा भने आरुघाट गाउँपालिका मान्बु घर भएका नन्दप्रसाद न्यौपाने सर्व सम्मत चयन भएका थिए । उनको एकल उम्मेदवारीको लागी जिल्लाको ११ स्थानिय तहमा काँग्रेस सभापतिहरुले समर्थन समेत जनाएको थियो ।
सोही कारण पनि न्यौपाने बाहेक सभापतिमा अरुको उम्मेदवारी पर्न सकेन । न्यौपाने यस अघि पार्टी सचिव थिए ।
आज हुने निर्वाचनमा २ उप सभापतिका लागी ५ जनाको उम्मेदवारी परेको छ । उप सभापतिका लागी धिरन थापा, रबिकला खनाल, सिपी पोखरेल, हरीबहादुर गान्धारी र ईमान सिं बस्न्यात रहेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार २ सचिवका लागी समेत ५ जनाकै उम्मेवारी परेको छ । सचिव पदका लागी ओमबहादुर गुरुङ, कृण्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनी र किशोरजंङ थापाको उम्मेदवारी परेको छ । सचिवमा उम्मेदवारी दिएका थापा भने पत्रकार हुन ।
जिल्ला समितिका आंकाक्षिहरुको लामो लाईन देखिएको छ । पद लिएर जिल्ला बाहिर बस्ने देखी भरर्खरै काँग्रेसमा प्रवेश गर्नेहरुले पनि पदको आशा गर्दा यस्तो समस्या आएको नेपाली काँग्रेसका एक स्थानिय नेताले बताए । ‘हामीले समाजमा नै बसेर काँग्रेसका लागी सहयोग र संगठन बिस्तारको काम गरर्यौ तर पद लिने बेला जिल्ला बाहिर बसेका र भरर्खरै काँग्रेस प्रवेश गरेकाहरुको हालिमुहाली देख्छु’ उनले दुखेसो पोखे ।
त्यस्तै आज हुने निर्वाचमा सह सचिव पदमा ८ जनाको उम्मेदवारी परेको छ । सह सचिवमा कमलप्रसाद अंगाई, गंगाप्रसाद अधिकारी, दिपक हमाल, भेषराज पाण्डे, मानप्रसाद घिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यता अन्य पदका लागी पनि आंकाक्षिहरुको लामै लहर रहेको समितिले जनाएको छ । समितिका अनुसार आज बिहान ८ बजे देखी निर्वाचनका लागी मतदान सुरु हुने छ ।























