गोरखा । नेपाली काँग्रेस पार्टी परित्यागको घोषणा गरेकी गोरखाको भीमसेन थापा गाउँपालिका उपप्रमुख बिनु वाग्लेले आफु फेरि काँग्रेसमा नै फर्किएको घोषणा गरेकी छिन् ।
शुक्रबार राती सामाजिक सञ्जाल मार्फत काँग्रेस पार्टीबाट अलग भएको घोषणा गरेकी काँग्रेस नेतृ वाग्लेले फेरि आइतबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस राख्दै काँग्रेसमा फर्किएको बताएकी हुन् ।
वाग्लेले पार्टीभित्रैका केही व्यक्तिहरूले मेरा बिरुद्ध गरेको षडयन्त्रको कारण पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको थिएँ, तर पार्टीभित्रकै थुप्रै अग्रज नेतृत्वहरू, शुभचिन्तकहरू, मतदाताहरू तथा सहकर्मीहरूको सल्लाह, सुझाव तथा उत्प्रेरणा दिएका कारण पुनः पार्टीमा नै फर्किएको जनाउकी छिन् ।
उनले त्यस्ता षडयन्त्रको बिरुद्ध पार्टीभित्रबाटै संघर्ष गर्दै नेपाली काँग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक समाजवादप्रतिको निष्ठालाई अझ बलियो बनाउन ईमान्दारीताका साथ लाग्ने प्रण गरेको छु भन्दै पुनः नेपाली कँग्रेस पार्टीमा नै रहेको जानकरी गराएकी हुन।
उपप्रमुख वाग्लेले आफु माथि सद्भाव राख्नुहुने सम्पूर्ण अग्रज नेतृत्वहरू, शुभचिन्तकहरू, मतदाताहरू तथा सहकर्मीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी छिन् ।
शुक्रबार काँग्रेसको वडा स्तरीय अधिबेशनका क्रममा आफुलाई काँग्रेसका एक नेता सहित निर्वाचन अधिकृत पूर्ण गुरुङको मिलोमतोमा आफ्नो नाम हटाएर अरुलाई निर्विरोध गरेको आरोप लगाउदै काँग्रेस पाटी परित्याग गरेको घोषणा गरेका थिए ।
आफुलाई शेरबहादुर देउवाको मान्छेको भएको आरोप लगाएर उनीहरुले क्षेत्रिय प्रतिनिधि हुन बाट रोकेको आरोप नेतृ वाग्लेले लगाएका थिए ।




















