काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःर्निर्मित धरहराको आज एक कार्यक्रम बिच उदघाटन गरेका छन् ।
सुन्धारामा हालै निर्माण सम्पन्न भएको धराहराको शनिबार विहान प्रधानमन्त्री ओलीले उदघाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उदघाटन गरेका हुन् । त्यस पछि उनी धरहराको माथि पुगेका थिए । लिफ्टबाट २० औं तलामा पुगेका प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्नुका साथै उपत्यकाको दृष्य समेत अबलोकन गरेका थिए ।
२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।





















