पोखरा – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला गण्डकी प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरेका हुन् ।
अविश्वास प्रस्ताव दर्ता हुने निश्चित भएको जानकारी पाए लगत्तै बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको थियो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेलगत्तै प्रदेश सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको थियो । त्यसको सट्टा लुम्बिनी प्रदेशमा कांग्रेसले माओवादी नेतृत्वमा सरकार बनाउन सहमत भएको थियो ।
राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ताको घोषणा गरेपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ । गण्डकी प्रदेशमा कांग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति दुवै पार्टीको शीर्ष तहमा बनिसकेको छ ।
गण्डकीमा नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्ने भएको छ ।







